भर्जिनियामा नेपाली अमेरिकन सामुदायिक केन्द्रको भवन र मन्दिर शिलान्यास सम्पन्न

वाशिंगटन डिसी। अमेरिकाको भर्जिनियामा नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)को भवन र मन्दिर शिलान्यास कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

भर्जिनियाका अमेरिकी नेपाली समुदायले दशकौँदेखि देखेको सामुदायिक भवन र मन्दिर बनाउने सपना अव पूरा हुने कुरामा समुदायका सदस्यहरु विश्वस्त देखिन्थे ।

सदस्यहरुको विश्वास, चन्दा सहितको हरप्रकारको समर्थन र नेतृत्वमाथिको भरोसाको कारण नै न्याक आज शिलान्यास गर्ने बिन्दूसम्म पुगेको हो ।

अमेरिकी नेपाली समुदायको इतिहासमा यो शिलान्यास कार्यक्रम विशेष बन्न पुग्यो किनकि एकै मन्चमा बौद्ध धर्म गुरुहरु र हिन्दु वैदिक गुरुहरुले एकै चोटी, एकै स्थानमा जम्मा भएर आआफ्नो धार्मिक पद्धति अनुसार शिल्यान्यास गर्नु भएको थियो ।

भवन र मन्दिर शिल्यान्यासको साथै न्याक परिशरमा सैयौं महिला दिदी बहिनीहरुको सहभागितामा कलश यात्रा पनि गरिएको थियो ।

स्थानीय सरकारको तर्फबाट प्रिन्स विलियम काउन्टीकी सुपरभाइजर र अमेरिकी सिनेटर टीम केनकी सचिवले समेत शुभकामना दिंदै नेपाली अमेरिकन समुदायको लागि सहयोग गर्न तयार रहेको आश्वासन दिएका थिए ।

कार्यक्रममा न्याक विओटी(बोर्ड अफ ट्रष्टी) अध्यक्ष अरुण रुपाखेती, कार्यसमिति अध्यक्ष डा मदन उप्रेती लगायत पदाधिकारीहरुले चन्दादाताहरु र सदस्यहरुलाई धन्यबाद दिनुभएको थियो । न्याक पदाधिकारीहरुले सो अवसरमा नयां सदस्यहरुको नामावली सुनाउनुको साथै समुदायका सवैलाई न्याकको नयां सदस्य बन्नको लागि अनुरोध गर्नु भएको थियो ।

न्याकले भवन संरचना निर्माणको लागि बैकबाट २१ लाख ८० हजार अमेरिकन डलर ऋण संझौता गरेको छ साथै निर्माण कार्यको ठेक्का हस्तान्तरण गरी निर्माण कम्पनीले काम शुरु गरिसकेको छ ।

शिलान्यास कार्यक्रममा आएका सहभागीहरु नेपाली पोशाक र विभिन्न नेपाली सांस्कृतिक पहिचान झल्काउने पोशाकमा उपस्थित थिए । झट्ट हेर्दा न्याक परिशर नेपालकै कुनै भाग जस्तो देखिन्थ्यो ।

साथै भवन शिलान्यासको शुभमूहुर्तमा गरिएको पूजा अर्चनामा गुरुवर्गसंगै बसी करीव २० जनाले कर्ताको भूमिका निर्वाह गरी न्याक भवनको जगमा इटा राख्न सहयोग गर्नु भएको थियो ।

यो स्वप्न परियोजना (ड्रिम प्रोजेक्ट)लाई सफल बनाउन न्याकले “सवै उठौं, सवै जुटौं “ भन्ने नारा दिएको छ । कार्यक्रम संयोजक विना खड्का लामाले सहयोगी संघ संस्था र ब्यक्तिहरुलाई धन्यबाद दिनु भएको छ ।

न्याकको सवै चल अचल सम्पत्ती ७०-८० लाख डलर बराबरको रहेको बताईएको छ ।

नयाँ बन्ने मन्दिरमा १५० देखि २०० सम्म मानिसहरुले एकै साथ पूजा गर्न सकिने छ । मन्दिरको लागि मूर्तीहरुको खरीद प्रक्रिया अगाडि बढाउन लागिएको बुझिएको छ ।

Source: https://www.enepalese.com/2023/05/388163.html